‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक काटेर मनाइयो

‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक काटेर मनाइयो

नेपालगंज ।

भाइटीकाको भोलीपल्ट (कात्तिक ११ गते) बाट प्रदर्शन आएको  चलचित्र ‘महापुरुष’ले शनिबारदेखी काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । सो अवसरमा नेपालगंजको वागेश्वरी क्यु एफएक्समा केक काटेर प्रदर्शनको ५१ औ दिन मनाइएको हो ।

चलचित्र पत्रकारसंघ बांके शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकारसंघ बांके शाखा अध्यक्ष रामचन्द्र पौडेल, वागेश्वरी क्यु एफएक्सका प्रबन्ध निर्देशक संजिव शाक्यले सयुक्त रुपमा ५१ औ दिनको केक काटेका थिए ।

कोरोना महामारी पश्चात ‘महापुरुष’ले ५१ औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ ।

चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन् । ‘दर्शकको साथले थप ऊर्जा मिलेको छ,’ उनले भने । नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यस अगाडि निर्देशन गरेका जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१ औँ दिन पार गरेको थियो ।

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बनेका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन् । ‘उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ’, उनले भने ।

अमेरिका भ्रमण सकेर नेपाल फर्किएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए । ‘टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ,’ अभिनेता आचार्यले भने ।

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ५१औं दिन मनाउने उनको यो चौंथो फिल्म हो । यसअघि उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको ५१औं दिन मनाएका थिए । बलियो ‘वर्ड अफ माउथ’का कारण ‘महापुरुष’ले बक्स अफिसमा लामो यात्रा गर्न सफल भएको हो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा फिल्म आधारित छ ।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।फिल्मले अमेरिका, अष्ट्रेलिया लगायतका विदेशी भूमिमा पनि आक्रामक कमाई गरेको छ ।

यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *