पर्याप्त शो नपाएको भन्दै ‘राधा’लाई सबै हलबाट उतारियो

पर्याप्त शो नपाएको भन्दै ‘राधा’लाई सबै हलबाट उतारियो
काठमाण्डौं ।
शुक्रवारबाट प्रदर्शनमा आएको सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘राधा’लाई निर्माताहरुले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलवार आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट फिल्मलाई हलबाट उतार्ने घोषणा गर्‍यो ।
निर्मात्री दिवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहरुले चरम विभेद गरेको र फिल्मलाई उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिइन् ।
फिल्मको बलियो ‘वर्ड अफ माउथ’का कारण सिनेमा हलमा दर्शकहरु आउने क्रम बढेको भए पनि मल्टीप्लेक्सहरुले शो घटाएको निर्मात्री विष्टको आरोप छ । उनले भनिन्, ‘बोल्नेहरुको फिल्मलाई मात्र शो बढाइयो । तर, नबोल्नेलाई शो नै दिइएन । तीजको विदामा फिल्म हेर्न दर्शक आउने आशा थियो । तर, आजै फिल्मले राम्रो शो पाएन । अनि, फिल्मलाई उतार्ने निर्णय लिएका हौं ।’
प्रदर्शकहरुबाट अपेक्षित सहयोग नमिलेको बताउँदै निर्देशक सुवर्ण थापाले नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी अहिलेलाई फिल्मको प्रदर्शन रोकेको बताए । शुक्रवारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘प्रकाश’लाई पनि सुरुवातमा हलवालाहरुले शो बाँडफाँडमा विभेद गरेपछि फिल्मको टिमले आक्रोशित हुँदै पत्रकार सम्मेलन गरेको थियो । त्यसलगत्तै फिल्मले ठूलो मात्रामा शो पाएको थियो ।
तर, ‘राधा’का निर्माता समेत रहेका सौगात र सृष्टि फिल्मले मल्टीप्लेक्सहरुमा कम शो पाएको विषयमा मौनता साँधेर बसे । जसले गर्दा प्रदर्शकहरुलाई दबाब परेन । फिल्मले शो बाँडफाँडमा विभेद भोगे पनि समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । विशेषगरी अभिनेत्री श्रेष्ठको अभिनयको प्रशंसा भएको छ । तर, फिल्मले रिलिजको चार दिनमा कमजोर व्यापार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *