मनास्लु हिमपहिरोमा कम्तीमा १३ जना बेपत्ता

मनास्लु हिमपहिरोमा कम्तीमा १३ जना बेपत्ता

काठमाडौं ।

मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका छन् ।

८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमालको ४८ सय मिटर उचाईमा रहेको आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, दिउँसो गएको हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।

छाङदावाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीनवटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौंबाट पुगिसकेका छन् । सेभेन समिटका दुई आरोहण दल सदस्यसहित चार जनालाई घटनास्थलबाट उद्धार गर्नुपर्ने छ ।

उक्त हिमालको ६ हजार ८ सय मिटर उचाईको तेस्रो शिविरदेखि ७ हजार ४ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरमा बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा तथा आरोहीहरु हिमपहिरोमा परेका हुन् ।

हिमपहिरोमा काठमाडौंको सातुरी एडभेन्चरका तीन जना शेर्पा घाइते भएको कम्पनीका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले कान्तिपुरलाई बताए । उनका अनुसार, उक्त कम्पनीका गाइड अनुप राईको अवस्था सख्त घाइते छ । ‘घाइतेहरुलाई उद्धारको खाँचो छ । अनुप बेहोस छन् । तीनवटा हेलिकप्टर मनास्लु हिमालको आधार शिविर आसपासमा छन् । मौसम सफा हुनेबित्तिकै घाइतेहरुलाई उद्धार गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

आधार शिविरदेखि ४ घन्टा दुरीमा रहेको सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत तथा आरोहण दल सम्पर्क अधिकृत यशोदा अर्यालका अनुसार, हिमपहिरोबाट भएको क्षतिबारे एकिन जानकारी अझै प्राप्त हुन सकेको छैन । ‘हिउँ परिरहेको छ । दुइटा हेलिकप्टर सामागाउँमा उद्धारका लागि तयारी अवस्थामा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *